सूचना
सूचना
इजिप्ट, लिबिया, अल्जेरिया, लेबनान, जोर्डन, इथियोपिया, मोरक्को, नाइजेरिया, सुडान लगायत यस नियोगको कार्यक्षेत्रअन्तर्गतका अफ्रिकी तथा मध्यपूर्वी मुलुकहरूमा बसोबास तथा भ्रमण गर्ने सम्पूर्ण नेपाली नागरिकहरूको हित संरक्षण र सुरक्षाप्रति नेपाली राजदूतावास कायरो सदैव प्रतिबद्ध रहेको छ।
हालैका दिनहरूमा यूरोपेली वा अमेरिकी मुलुकहरू प्रवेश गर्ने प्रलोभनमा परी विभिन्न दलाल तथा मानव तस्करहरूको मौखिक आश्वासनमा इजिप्ट, लिबिया, इथियोपिया, युगाण्डा लगायतका अफ्रिकी मुलुकहरू हुँदै यात्रा गर्ने नेपाली नागरिकहरू ठूलो जोखिममा परेको पाइएको छ। लिबिया, सुडान लगायतका युद्ध/द्वन्द्वग्रस्त क्षेत्रहरूमा नेपाली नागरिकहरू अलपत्र पर्ने, शसस्त्र वा आपराधिक समूहद्वारा बन्धक बनाइने वा फिरौती माग्ने गरेका घटनाहरू देखिएका छन्, जहाँ उद्दार कार्य अत्यन्त चुनौतीपूर्ण र कतिपय अवस्थामा असम्भवप्रायः हुने देखिएको छ।अवैध रूपमा आफ्नो देश प्रवेश गर्ने वा कागजात नभएका व्यक्तिहरूलाई ती मुलुकहरूले अत्यन्त महँगो जरिवाना लगाउनुका साथै अनिश्चितकालका लागि थुनामा राख्ने गरेको पाइएको छ।
युगाण्डासहितका केही अन्य अफ्रिकी मुलुकहरूमा वैदेशिक रोजगारीको आवरणमा विशेष गरी डान्सबार/क्लब लगायतका मनोरञ्जन क्षेत्रमा आकर्षक तलबको प्रलोभन देखाई नेपाली महिलाहरूलाई जबरजस्ती यौन पेशामा संलग्न गराउने गरिएको गुनासो समेत प्राप्त भएका छन् ।
यस राजदूतावासले समय/समयमा विभिन्न मुलुकहरूबाट विभिन्न संघ/संस्थाको सहयोग समेत लिर्इ नेपाली नागरिकहरूको उद्दार गरी नेपाल फर्काएको छ। यस सन्दर्भमा कायरो तथा अफ्रिकी तथा मध्यपूर्वी मुलुकहरूमा रोजागारी वा ती मुलुकहरूलाई ट्रान्जिट बनाएर यात्रा गर्ने नेपाली नागरिकहरूका लागि यस राजदूतावास निम्न व्यहोरा अनुरोध गर्दछः
- आफू जाने देशको भिसा, रोजगार अनुमति तथा ट्रान्जिट र अन्तिम गन्तव्यका बारेमा नेपालबाटै पूर्ण रूपमा सुनिश्चित भएर मात्र यात्रा तय गर्न।
- मनोरञ्जनका क्षेत्रमा रोजगारीमा जाँदा सम्बन्धित देशको रोजगार अनुमति प्राप्त गरेर र नजिकको राजदूतावास र त्यहाँको नेपाली समुदायसँग थप बुझेर निश्चित भएर मात्र जान।
- रोजगारीको हकमा नेपाल सरकारको सम्बन्धित निकायबाट अनिवार्य रूपमा श्रम स्वीकृति लिन र यात्रा गर्दा वैधानिक मार्गको मात्र प्रयोग गर्न।
- यूरोपेली वा अमेरिकी मुलुकहरूमा प्रवेश गर्ने प्रलोभनमा अवाञ्छित मानिसहरूको भ्रमपूर्ण आश्वासनमा परी सम्बन्धित मुलुकको भिसाबिना एशियाली, मध्यपूर्वी वा अफ्रिकी मुलुकहरूको यात्रा नगर्न। यस्तो गर्दा मानव बेचबिखन तथा आपराधिक समूहहरूको कब्जामा पर्ने बिषयमा जानकार हुन।
- कुनै अन्य मुलुकमा पुगी त्यहाँबाट अवैध मार्ग, जङ्गल वा डुङ्गा लगायतका जोखिमपूर्ण यात्राबाट सम्बन्धित यूरोपेली वा अमेरिकी मुलुक पुग्ने भन्ने जस्ता भ्रमपूर्ण आश्वासनमा परी यात्रा शुरू नगर्न।
- यात्राको क्रममा समस्या परेमा वा सुरक्षाको जोखिम देखिएमा तुरुन्त यस राजदूतावास वा नजिकको नेपाली कुटनीतिक नियोग वा नेपाली संघ संस्थामा मा सम्पर्क राख्न।तपाईंको सचेतना नै तपाईंको सुरक्षा हो।
नेपाली राजदूतावास, कायरो, इजिप्ट
इमेलः eoncairo@mofa.gov.np
Phone: +20 2 27369482, +20 2 27369483
WhatsApp: +201002505997